ट्रम्पले हार्वर्डलाई दिने थप १ अर्ब डलर कटौती गर्दै

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई दिने थप रकम पनि रोक्न लागेका छन्।

विश्वविद्यालयले ट्रम्पका ‘नाजायज’ सर्तहरू सार्वजनिक गरेपछि रिसको झोंकमा ट्रम्प सरकारले स्वास्थ्य अनुसन्धानका दिने थप १ अर्ब डलर कटौती गर्न लागेको भनेर द वाल स्ट्रिट जर्नलले लेखेको छ।

वार्ताका क्रममा आफूले राखेको सर्त हार्वर्डले सार्वजनिक गरेको भनेर ट्रम्प सरकारले विश्वविद्यालयको आलोचना गरेको छ। अर्कोतर्फ हार्वर्डले भने सरकारले ती सर्तहरू गोप्य राख्नु भनेको थिएन भनेर दाबी गरेको छ।

सर्तहरू सार्वजनिकमात्रै नगरेर कडा विज्ञप्ति पनि निकालेको कारणले हार्वर्डले झगडा चर्काउन खोजेको ठानेर सरकारले थप स्रोत रोक्का गर्न लागेको मानिन्छ।

ट्रम्प सरकार र रिपब्लिकन पार्टीले अमेरिकाका प्रख्यात विश्वविद्यालयहरूमा उग्र उदारवादीहरू हाबी भएको र पछिल्ला वर्षमा फरक विचारलाई निषेध गरिएको भनेर निरन्तर आक्रमण गरिरहेका छन्।

ती विश्वविद्यालयहरूमा प्यालेस्टिनीको समर्थनमा भएका इसराइल विरोधी प्रदर्शनमा सहभागी विदेशी विद्यार्थीलाई ट्रम्प सरकारले देश निकाला गरिरहेको छ।

कोलम्बिया विश्वविद्यालयलाई संघीय सरकारले दिने ४० करोड डलर रोक्ने ट्रम्पले धम्की दिएपछि हालै उक्त विश्वविद्यालयका उनका कैयौं मागहरू मानेको थियो।

कोलम्बिया मात्रै नभएर ६० वटा विश्वविद्यालयलाई त्यहाँ रहेको भनिएको यहूदी विरोधी भावनाको सम्बोधन नगरे संघीय अनुदान रोक्ने ट्रम्प सरकारले धम्की दिएको छ।

यसअघि पनि प्रशासन र विद्यार्थी अनुशासन कायम गर्न सुधार नथालेको भनेर ट्रम्पले हार्वर्डलविरूद्ध युद्ध छेडेका थिए।

संघीय सरकारले दिने दुई अर्ब २० करोड डलरभन्दा बढी रोक्का मात्रै नगरेर उनले हार्वर्ड विश्वविद्यालयलाई दिइएको कर छुट बन्द गरेर उसको आम्दानीमा कर लगाउने धम्की समेत दिएका थिए।
यसका साथै हार्वर्डले कथित यहूदी विरोधी भावनाको सामना गर्न चासो नदेखाएको र उदारवादी राजनीति गरेको ट्रम्पले आरोप लगाएका थिए।

‘यदि हार्वर्डले राजनीतिक, वैचारिक र आतंकवादी प्रेरित/समर्थन गर्ने ‘रोग’ लाई प्रोत्साहन गरिरह्यो भने सायद उसले कर-मुक्त स्थिति गुमाउनु पर्छ र राजनीतिक संस्थाको रूपमा कर तिर्नुपर्छ? याद राख्नुस्, कर-मुक्त स्थिति पूर्ण रूपमा सार्वजनिक हितमा काम गर्ने सर्तमा निर्भर हुन्छ!,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गत हप्ता लेखेका थिए।

ट्रम्पको प्रशासनले केही हप्ताअघि हार्वर्ड विश्वविद्यालयलाई संघीय सरकारले दिने नौ अर्ब डलरसम्म रोकिने गरी त्यहाँ रहेको कथित यहूदी विरोधी भावनाको सामना गर्न अपनाइरहेको उपायहरूको समीक्षा सुरू गरेको थियो।

संघीय सरकार अन्तर्गतका निकायहरूले ‘हार्वर्ड विश्वविद्यालय र यसका सम्बद्ध संस्थाहरूमा संघीय सम्झौता र अनुदानहरूको व्यापक समीक्षा’ सुरू भएको बताएका थिए।

सो समीक्षाका क्रममा सरकारले राखेको सर्त नमानेपछि संघीय सरकारले हार्वर्डलाई दिने दुई अर्ब २० करोड डलरभन्दा बढी रकम ट्रम्पले रोक्का गरेका थिए।

हार्वर्डले सर्त नमान्ने मात्रै नभएर कडा विज्ञप्ति निकालेर ट्रम्प सरकारको सामना गर्ने दृढता व्यक्त गरेको थियो।

ताजा समाचार