काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
जनकपुरले १ सय ८५ रनको लक्ष्य ४ बलअगाडि पूरा गरेको हो । पावर प्लेको ६ ओभरमा ७१ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा १ सय ५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो ।
मिलान्थाले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । मिलान्था ६५ रनमा भएको समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्डको मौका गुमाएका थिए । मिलान्थाले ४९ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए ।
मिलान्थाले आसिफ शेखसँग ७ ओभरमा ७७ रन जोडेर जनकपुरलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । प्रतियोगितामा खासै जम्न नसकेका आसिफले १९ बल खेली ४ चौका र २ छक्कासहित ३३ रन बनाए । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाई आउट भए । जिम्मी निसम ४ र आकाश त्रिपाठी २ रनमै आउट भए ।
सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीपछि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाई १ सय ८४ रन बनायो । जैब र विनोदले पहिलो विकेटमा १२ ओभरमा १ सय १७ रन जोडेपछि सुदूरपश्चिमले विशाल स्कोर बनाएको थियो ।
जैबले ३३ बलमा अर्धशतक पूरा गरेपछि सुदूरपश्चिमले पहिलो १० ओभरमा बिनाक्षति ९७ रन बनाएर आक्रामक सुरुआत गरेको थियो । १३ औं ओभरमा जैबले ६२ रनमा जीवनदान पाएका थिए । किशोर महतोको बलमा उनले लङअनमा गरेको प्रहार शेर मल्लले क्याच छोड्न पुगेका थिए ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
जैब सर्वोत्कृष्ट खेलाडी, जनकपुरका ललित उत्कृष्ट बलर

सुदूरपश्चिम रोयल्सका सैफ अली जैब नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
प्रतियोगिताभर उनले २७५ रन र १२ विकेट लिएका छन् । जैबले पाँच लाख रुपैयाँ पुरस्कार हात पारे ।
त्यस्तै उत्कृष्ट बलर जनकपुर बोल्ट्सका ललित राजवंशी चुनिए । प्रतियोगिताभर १७ विकेट लिएका उनले माेटरसाइकल पुरस्कार पाएका छन् ।
ऐरीले जिते कार

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।
कसले पाए पुरस्कार
कर्णाली याक्सका विपीन खत्री उदीयमान खेलाडी हुन सफल भए । उनले १४ विकेट लिए ।
फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ ।
सर्वोत्कृष्ट खेलाडी : सैफ अली जैब (सुदूरपश्चिम)
सर्वोत्कृष्ट नेपाली खेलाडी : दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
उत्कृष्ट बलर : ललित राजवंशी (जनकपुर)
इमर्जिङ प्लेयर : विपीन शर्मा (कर्णाली)
इनर्जेटिक प्लेयर : जिमी निशम (जनकपुर)
फेयर प्ले : लुम्बिनी