देशभर उद्धारका लागि २० हजार सुरक्षाकर्मी परिचालन,नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक

काठमाडौं। अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्धारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जीउधनको रक्षा र विपदमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।

जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको ४ हजार ७६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।

सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म १ हजार ५३ जनाको उद्धार गरिएको जानकारी दिए ।

यसअघि गृहमन्त्री रमेश लेखकले बाढी पहिरोमा अवरुद्ध सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

यसैबिच बर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्धारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो ।

सूचनामा भनिएको छ, ‘सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।’

शुक्रबार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको भन्दै सिञ्जालीद्वारा जारी सूचनामा यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।

अत्यावश्यक कामबाहेक नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो ।

विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

ताजा समाचार