काठमाडौं । वुमन्स एसिया कपमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ ।

नेपालका ओपनर सम्झना खड्काको शानदार ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटले जित निकालेको हो । खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नकआउट रहिन् ।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा भेटाएको थियो।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । सम्झना टी-२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौँ नेपाली खेलाडी बनेकी छन् ।
यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए । ओपनर सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् ।
रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान इन्दु बर्माले ६ र कविता कुँवरले २ रन बनाएर आउट भए । पूजा महतो ७ रनमा अविजित रहिन् ।
यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

युएईकी खुसी शर्माले सर्वाधिक ३६, कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भएका थिए ।
बलिङमा नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरिन् । ४ ओभर बलिङ गरेकी इन्दुले १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट लिएका थिए ।
एसिया कपमा नेपालको यो पहिलो ऐतिहासिक जित हो । तेस्रो पटक एसिया कपमा सहभागी भएको नेपालले हालसम्म जित निकाल्न सकेको थिए ।
