काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० क्रिकेटमा बुधबार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको हो ।
जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । शृङ्खलाको चौथो खेल बिहीबार खेलिने छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले भने १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो ।
तेस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुबैमा निराशाजनक प्रदर्शन गर्यो । ठुलो विजयलक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान करण केसीले २८ रन बनाए ।
ओपनर ब्याट्सम्यान लोकेश बमले पनि २८ रन बनाए । कुशल मल्ल २० रन बनाउँदै आउट भए । ओपनर विनोद भण्डारी पनि १९ रनभन्दा अगाडि बढ्न सकेनन् । अनिल साहले १४ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालले अतिरिक्त रूपमा पनि १४ रन पाएको थियो । वेस्ट इन्डिजका बलर ह्याडेन वाल्सले तीन विकेट लिए । गुडाकेश मोटीले पनि दुई विकेट हात पारे । म्याथ्यू फोर्ड, ओबेड म्याकोय र फाबिन एलनले पनि एक–एक विकेट लिए । नेपालका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्लसले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले अविजित रहँदै टोलीका लागि अविजित एक सय १९ रनको योगदान गरेका थिए । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका जोन्सनले केवल ६१ बलको सामना गरी सात छक्का र १३ चौका पनि हिर्काए ।
जोन्सन नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् । जोन्सन चार्लसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।