अफगानिस्तानलाई पराजित गर्दै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।

पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।

१४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे ।

खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।

७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो ।

गुल्सन झा १, विपिन रावल २ र दीपक डुम्रेले ५ रन बनाए। दीपेश कँडेल ४ रन जोडेर आउट भए ।

१२७ रन जोड्दा कप्तान खनाल सातौँ विकेटका रुपमा आउट भएपछि नेपाल थप दबाबमा परेको थियो । त्यसपछि दीपक र सन्तोष भन्डारीले आठौँ विकेटका लागि १३ रनको साझेदारी गरे ।

नेपाललाई जितका लागि २ रन आवश्यक रहेका बेला नवौँ विकेट गुमाएको थियो । सुबासले विजयी रनका रुपमा चौका प्रहार गरेका थिए ।

समूह डीमा नेपाल तेस्रो हुँदै सुपर सिक्स पुगेको हो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपालले अगाडि बढ्न अफगानिस्तानविरुद्ध जित्नैपर्ने दबाब थियो। नेपालले यसअघि सन् २०१६ मा आयोजित विश्वकप संस्करणमा पनि दोस्रो चरणको यात्रा तय गरेको थियो ।

ताजा समाचार