टोकियो
नेपाल चिनाउने उद्देश्यले जापानमा नेपाल फेस्टिवलको आयोजना हुने भएको छ ।
समुन्द्री किनारमा अवस्थित खानागावा प्रान्तको योकोसुका नगरमा नेपाल फेस्टिवल आयोजना गरिने आयोजकले जानकारी दिएका छन ।
योकोसुका नगर, जापानस्थित नेपाली राजदूतावास र जापान नेपाल आपसी सहयोग संघको संयुक्त आयोजनामा फेस्टिवल हुने भएको हो । फोस्टिवल नोभेम्बर २५ तारिक (मंसिर ९गते) हुने फेस्टिवलका संयोजक लोकनाथ वस्तिले जानकारी दिए ।
फेस्टिवलको आर्कषणमा नेपाली संस्कृति झल्काउने नृत्य, पञ्जेबाजा, लाखे नाँच, बासुरी र मादलको प्रस्तुति रहेका छन् । साथै नेपाली बालबालिकाले खेल्ने मनोरञ्जनात्मक खेलहरु चुँगी, क्यारिमबोर्ड, नागपासा (लुडो) लगायतका खेल खेल्ने निशुल्क व्यवस्था रहेको छ ।
जापानीज नागरिकलाई नेपाली कला र भाषा सिकाउने उद्देश्यका साथ नेपाली भाषामा नाम लेख्ने, सिलौटोमा मसला पिस्ने कार्यक्रम राखिएको जिज्ञान कुमार थापाले बताए ।
फेस्टिवलको उद्घाटनका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी, योकोसुका मेयर कामिचि तथा भरतपुर नगरपालिकाका प्रतिनिधिले सयुक्त रुपमा गर्ने तयारी रहेको छ ।
नेपाल र नेपाली संस्कृतिलाई चिनाउन, भरतपुर महानगरपालिकाले घोषणा गरेको भिजिट बर्ष २०२४ लाई सफल पार्न टेवा पुग्ने विश्वास लिदै आयोजना गरिएको खानागावा नेपाली कम्यूनिटी निवर्तमान अध्यक्ष हरि सापकोटाले बताए ।
शनिबार विहान १० बजेबाट साँझ ५ बजे सम्म जारी रहने नेपाल फेष्टिवलमा सहभागिताका लागि आयोजकले सबैलाई अनुरोध गरेको छ ।