मन्त्रालय बढाएर ५८औँ दिनमा बागमती सरकारले पायो पूर्णता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा (९) बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

एक मन्त्रालयमा भएको विवाद समाधान गर्न एक मन्त्रालय थपिने सहमतिपछि आइतबार बागमती मन्त्रिपरिषद्‌ले पूर्णता पाएको हो। बागमतीमा रिक्त रहेका ५ मन्त्रालय र बिना विभागीय मन्त्री गरी कांग्रेस र एकीकृत समाजवादीबाट ६ मन्त्री नियुक्त भएका छन्। 

जसअनुसार बहादुर सिंह लामा मन्त्रिपरिषद्को दोस्रो वरीयतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यस्तै गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दा कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

यस्तै तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्दा रामकृष्ण चित्रकारको भने पछि जिम्मेवारी तोकिनेछ । 

सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिन सम्भव भएको हो ।  बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो । 

जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै  नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाएको छ । 

मन्त्रालय फुटाएर कार्यविभाजन नगरुन्जेल कांग्रेसका एक जना मन्त्रीलाई बिना विभागीय बनाइएको हो ।

ताजा समाचार