काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम विगतको तुलनामा विकसित र परिमार्जित भएको दाबी गरेका छन् । उनले यसलाई सरकारमा रहेका दलको मात्रै नभई राष्ट्रिय सहमतिको नीति तथा कार्यक्रमको रुपमा रहेको बताए ।
बिहीबार १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले भने, ‘यो न्यूनतम साझा कार्यक्रममा अहिलेका १० दलको मात्रै होइन, यसमा यसअघिको गठबन्धन सरकारमा सहभागी दलहरूको पनि प्राथमिकताहरू समेटिएका छन् । त्यसरी हेर्दा यो राष्ट्रिय सहमतिको दस्तावेज हो भन्न सकिन्छ । त्यसकारण यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै राजनीतिक दलको पनि हो ।’
उनले सरकारको नीति तथा कार्यक्रमको विज्ञहरूले प्रशंसा गरेको र गठबन्धन सरकार भएपनि नीति तथा कार्यक्रम सुधारिएको रुपमा आएको भन्दै कार्यान्वयनमा जोड दिन सुझाव दिएको सुनाए ।
नीति तथा कार्यक्रमले अहिलेको जनताको बदलिँदो माग र आवश्यकताहरूलाई सम्बोधन गर्दै प्रविधियुक्त, समतामुलक र सामाजिक न्यायसहितको समृद्ध समाज निर्माणका लागि मार्गदर्शन गर्ने उनको भनाइ छ ।’