सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन, भन्डारीलाई थप उपचारका लागि मुम्वाई लगिने

काठमाडौँ — ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ

बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् । हरिकला ८६ वर्षकी थिइन् ।

अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो । उनको शरीरको ७० प्रतिशत भागमा जलन भएको र श्वासनलीमा तातो हावा र धुँवाका कारणले जलन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । 

सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उनका स्वकीय सचिव भुवन भुसालले बताएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका हुन् । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

यसैविच कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ ।उनलाई श्री एयरलाइन्सको जहाजबाट भारत लगिने भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको थप उपचार हुनेछ ।

कीर्तिपुरस्थित बर्न सेन्टरबाट भर्खरै एम्बुलेन्समा हालेर भण्डारीलाई विमानस्थलतर्फ लगिएको हो । अस्पताल स्रोतका अनुसार उनलाई ६ जना चिकित्सकसहित ११ जनाको साथमा लगिनेछ ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।

खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेटमा उपचारको क्रममा निधन भएको छ ।

ताजा समाचार