मिडियामाथि खनिए लामिछाने, पत्रकार महासंघ र प्रेश युनियनको आपत्ती

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोखेका छन् । उनले कतिपय मिडियाको नाम नै किटान गरेर नै गम्भिर आरोप लगाएका छन् ।

आइतबार सरकारबाट बाहिरिने निर्णय गर्दै उनले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको आरोप लगाए । ‘देश नेताले चलाउने हो मिडियाले हैन,’ लामिछानेले भने ।

यस्तै उनले कतिपय मिडियाका सञ्चालकको नाम किटान गर्दै चुनावी प्रतिस्पर्धामा आउन पनि चुनौती दिए । साथै, मिडियाको एक पक्षीय प्रहारका कारण नै अदालतले आफू विरुद्धको मुद्दाको छिटो सुनुवाइ भएको आरोप लगाउँदै उनले भने- ‘अदालतमा कति मुद्दाको चाङ छ होला तर मेरै मुद्दा अगाडि सुनुवाइ किन भयो ? मेरै मुद्दा छिन्नका लागि लाइन मिचियो । खैर ठीक छ म त्यसलाई स्वीकार गर्छु ।’ 

यस्तै, देश बिग्रनुमा पनि प्रमुख भनिएका मिडियाको हात रहेको लामिछानेले पत्रकार सम्मेलनमा आरोप लगाए । यस क्रममा लामिछानेले आफूले जनताको भलाइका लागि काम गरिरहँदा मिडियाले भने आफूलाई पाखा लगाउनमा मात्रै केन्द्रित रहेको आरोप सम्मेलन भर दोहोर्‍याइ रहे ।

लामिछानेले पत्रकार सम्मेलनको सुरुमै आफू ‘मिडिया इथिक्स’ र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’बारे बोल्ने भन्दै मिडियामाथि आरोप लगाएका थिए ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यत्तिलाई लिएर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । रविले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघद्वारा जारी विज्ञप्तिमा रविले लगाएका आरोपहरुलाई आधारहीन र पूर्वाग्रही करार गरिएको छ । देशको चौंथो ठूलो दलका अध्इक्ष र उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यत्तिले संयम गुमाएर अभिव्यक्ति दिएको महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ ।

महासंघले लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएको छ ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै पत्रकार र मिडिया क्षेत्रमाथि लाञ्छना लगाएका नेता लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाली पत्रकारिता क्षेत्रले पञ्चायतकाल, २०४६, २०६२/६३ को राजनीतिक परिवर्तन गर्न ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका सबैलाई अवगत छ । मिडियाले मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युनियनको छ । लामिछाने जो आफैं सञ्चारकर्मबाट जनताका मुद्दा उठाएर परिचित भएपछि मात्र यो स्थानमा पुगेका हुन् । सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुश्मनको जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय छ,’ युनियनले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा समाचार