काठमान्डौ
काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो।
पहिलो हाफ गोलरहित भएको अवस्थामा नेपालका लागि खेलको ८३ औँ मिनेटमा अन्जन विष्टले गोल गरेर जित दिलाउन सफल भए।
गोलरहित पहिलो हाफमा दुवै टिमले उल्लेखनीय आक्रमण बुन्न सकेन । नेपालले खेल नियन्त्रणमा राखे पनि निर्णायक प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा सब्टिच्युट खेलाडीका रुपमा आभास लामिछानेले डेब्यु गरे ।
दोस्रो हाफमा पनि दुवै टिमको आक्रमण कमजोर रह्यो । तर खेल सकिन सात मिनेट अगाडि सुनील बलको पासमा अन्जनले नजिकको दूरीबाट गोल गरे । नेपालका लागि यो उनको ११ औं गोल हो ।
नेपालले रोहित चन्दको नेतृत्व खेलेको यो पहिलोपल्ट हो । दशरथ रंगशालामा नेपालको यो ऐतिहासिक ५० औं खेल हो । प्रशिक्षक प्रवेश कटुवालले नेपाली टिम सम्हालेको पनि पहिलो अवसर हो ।