लन्डन — बेलायतले झण्डै २ महिनापछि सोमबार नयाँ प्रधानमन्त्री पाएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो ।
नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले दिउँसो १२ बजेर ४० मिनेट जाँदा उनी नेता चुनिएको घोषणा गरेका थिए । ट्रसले ८१ हजार ३ सय २६ मत ल्याएकी छन् भने ऋषि सुनाकले ६० हजार ३९९ मत पाएका थिए । ८२ दशमलव ६ प्रतिशत मत खसेको थियो ।
विदेशमन्त्री ट्रसले पूर्वअर्थमन्त्री ऋषि सुनाकलाई पराजित गरेर पार्टी नेता चुनिएसँगै उनी प्रधानमन्त्रीका रुपमा टेन डाउनिङ स्ट्रिट प्रवेश गर्ने भएकी हुन् । बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री भएकी छन् ।
बेलायती महारानीले मंगलबार औपचारिक रुपमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम छ ।९६ वर्षीया महारानी एलिजावेथ अहिले समरमा बालमोरल क्यासल स्कटल्याण्डमा रहेकाले नयाँ प्रधानमन्त्रीले बकिङहम दरबारको सट्टा त्यता गएर नियुक्ति लिने जनाइएको छ ।
पार्टीका ३ सय ५८ सांसदमध्ये ४२ वर्षीय सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थान बनाएका थिए भने ट्रसले १ सय १३ मत पाएकी थिइन् ।
तर कर कटौती गर्ने नीतिले कन्जरभेटिभ पार्टीका वहुमत सदस्यहरुले उनलाई चुनेका हुन् । ट्रसले आफू शक्तिमा आए आपतकालीन बजेटमार्फत अर्बौं पाउण्ट कर कटौती गर्ने वाचा गरेकी थिइन् । निवर्तमान अर्थमन्त्री सुनाकले उर्जा बिलमा एक वर्षका लागि भ्याट कटौती गर्ने तर स्थायी कर कटौती भने मुद्रास्फीति तल नझरेसम्म कुर्नुपर्ने बताएका थिए ।
सन् २०१९ को आम निर्वाचनमा वहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सन जुलाई मध्यतिर कोभिड नियम उल्लंघन लगायत विभिन्न विवादमा तानिएका थिए । उनको कार्यशैली विरुद्द क्याबिनेट मन्त्रीहरुले विद्रोह गरेपछि उनी राजिनामा घोषणा गर्न वाध्य भएका थिए ।
जोन्सन सन् २०१९ को जुलाइ २४ मा प्रधानमन्त्री निर्वाचित भएका थिए । उनी १३ जुलाई २०१६ देखि ९ जुलाइ २०१८ सम्म विदेशमन्त्री बने ।
सन् २०१५ मेमा अक्सब्रीज एण्ड साउथ रइसलिप क्षेत्रबाट सांसद निर्वाचित जोन्सन त्यसअघि जुन २००१ देखि जुन २००८ सम्म हेन्लीबाट सांसद बनेका थिए । उनी लन्डनका पूर्व मेयर पनि हुन् ।
बढ्दो मुद्रास्फीति, ऊर्जा संकट, अकासिएको महंगी, आर्थिक संकट, विभाजित पार्टी लगायत विभिन्न समस्याले ग्रस्त बेलायतको नेतृत्व गर्न ट्रसलाई ठूलो चुनौती रहेको जानकार हरु बताउंछन्।
सन् २०१६ को युरोपियन युनियनको जनमत संग्रह यता भएको राजनीतिक अस्थिरताले गर्दा ट्रस गत छ बर्ष यता चौथो प्रधानमन्त्री हुन पुगेकी हुन् । समग्र बेलायती जनतामा ट्रसको लोकप्रियता निकै कम छ । नयाँ प्रधानमन्त्री भएपछि ट्रसले सरकार बनाउने देखि शुरूका दिनहरुमा बेलायतले सामना गरिरहेको समस्याका लागि के कस्ता नीतिगत निर्णय गरी अगाडि बढ्छिन्, त्यसमा नै उनको नेतृत्वको परीक्षण हुनेछ ।
हल विश्वविधालयमा अर्थशास्त्रका सिनियर लेक्चरर डा. केशव भट्टराई उत्पादकत्व बढाउनु, संरक्षण भन्दा प्रतिस्पर्धा बढाउनु,न्यून आयका मानिसलाई राहत दिनु, लगानी सुरक्षित गर्नु, निजी र सरकारी नीतिमा समन्वय र सहकार्य गर्नु, क्षमता वृद्धि गराउनु, अझ बढी उदार ब्यापार र लगानी नीति दरिलो नीति बनाउनु नयाँ प्रधानमन्त्रीको चुनौतिपूर्ण जिम्मेबारी रहेको बताउँछन् ।
‘बेलायतमा आर्थिक संकट अझ बढ्नेछ । मूद्रास्फिति २० प्रतिशतसम्म पुग्ने लक्षण छन्। बैंक अफ् इंगल्यान्डको मूल ब्याजदर तीन देखि चार प्रतिशत पुग्ने देखिन्छ, डा. भट्टराईले कान्तिपुरसँग भने, ‘आउने दिनमा उपभोक्ता र उत्पादक दुबै थरीलाई गहिरो आर्थिक मार पर्ने देखिन्छ । आम जनताको जीवनस्तर अझ खस्कने छ । सरकारले कर घटाएर र ऋण थपेर राहत दिन खोज्नेछ तर त्यसले झन् प्रतिकूल असर पर्नेछ । ऊर्जा संकटबीच केही समयका लागि आर्थिक मन्दी अवश्यम्भावी छ।’
बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीका तर्फबाट सांसद उम्मेद्वार भइसकेका डा. बच्चु कैलाश कैनी बेलायतको अहिलेको जल्दो बल्दो समस्याहरु जस्तै बढ्दो महंगी नियन्त्रण, मुद्रास्फीतिमा सुधार र समग्र रुपमा सामान्य नागरिकको आर्थिक अवस्थाको सुधार गर्नु नै बेलायतको नयाँ प्रधानमन्त्रीको लागि ठूलो चुनौती हुने देख्छन्।
‘अहिले विभाजित रुपमा रहेको टोरी पार्टीलाई एकबद्ध बनाउनु पनि उनको लागि कम्ति चुनौती छैन। बेलायतको नयाँ सरकार आगामी आम निर्वाचनको लागि तयार हुनु पर्ने र यसका लागि टोरी पार्टीको जीत सुनिश्चित गराउनु पनि अर्को ठूलो चुनौती देखिन्छ’ उनले भने ।
बेलायतमा संसदीय निर्वाचन पार्टीको नीति र संसदीय दलको नेताको योग्यता, दक्षता र नेतृत्व गर्ने क्षमताको भरमा मात्रै जितिन्छ।
लिजको अहिलेको अवस्था हेर्दा उनी पार्टी सदस्यहरुबीच लोकप्रिय भएले उनको नेतृत्वले सफलता पाउने आशा गरिएको छ। तथापि आफ्नै दलका संसदहरुलाई के कसरी एक ढिक्का भएर उनले सरकारको नेतृत्व गर्छिन्, त्यसमा नै उनको नेतृत्वको परीक्षण हुन्छ।
को हुन् लिज ट्रस ?
बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्वविधालयबाटै स्नातक अध्ययन गरेकी छन्। विद्यार्थी अवस्थामा लिबरल डेमोक्र्याटिक पार्टीसंग नजिक ट्रसले बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएकी थिइन्। पछि उनी कन्जरभेटिभ पार्टीमा सक्रिय भइन्।
दुईपटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उनी सन् २०१० मा पहिलोपटक ब्रिटिश संसद ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएकी थिइन्।
उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्र मन्त्रीको रुपमा काम गरिसकेकी छिन् । उनले युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गरिरहेकी थिइन्।
उनी बेलायत युरोपेली संघमै रहनु पर्छ भन्ने पक्षमा थिइन् तर टेरेजा मे प्रधानमन्त्री भएपछि भने उनले युरोपेली संघ छाडेर पनि बेलायतले लाभ लिन सक्ने बताएकी थिइन्।
उनको पूरा नाम मेरी एलिजाबेथ ट्रस हो। उनका श्रीमान ह्यु ओ लियरी एकजना लेखापाल हुन्। उनीहरुका दुई छोरी छन्।