महाभियोग समितिका सांसदमाथि नै उठाए चोलेन्द्रशमशेरले निष्पक्षताको प्रश्न

काठमान्डौ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समिति तथा सांसदहरू माथि नै निष्पक्षताको प्रश्न उठाएका छन्।

आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै उनले निष्पक्षताको प्रश्न उठाएका हुन्।

‘आफैंले महाभियोग प्रस्ताव गर्ने, आफैं छानबिन गर्ने, निर्णय पनि आफैं गर्ने? यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ,’ बिहीबार सिंहदरबारमा महाभियोग सिफारिस समितिमा उपस्थित भई बयान दिने क्रममा उनले भने, ‘महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा हुनुहुन्छ।’

महाभियोग प्रस्ताव गर्नेहरूले समितिमा बसेर छानबिन गर्दा स्वार्थ बाझिने पनि उनले तर्क गरेका छन्।

‘महाभियोग प्रस्ताव गर्ने सांसदले छानबिन गर्न मिल्दैन, स्वार्थ बाझिन्छ,’ उनले भने।

महाभियोग सिफारिस समितिकी सदस्य सांसद रेखा शर्माले समितिले निष्पक्ष भएर छानबिन गर्ने बताइन्।

हामी सांसदहरू महाभियोग प्रस्तावक भए पनि निष्पक्ष रूपमा छानबिन गर्छौं। समितिले निष्पक्ष छानबिन गर्छ। आधार र प्रमाणका आधारमा उहाँमाथि छानबिन हुन्छ,’ उनले भनिन्।

राणाले बुधबार बयान दिँदै महाभियोग निष्क्रिय भइरहेको र संसदको सम्मानका लागि मात्रै आफू आएको जवाफ दिएका थिए।

प्रतिनिधि सभाले साउन १५ मा राणाविरूद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।

सत्तारूढ दलले २१ आरोपसहित राणाविरूद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिङ गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

ताजा समाचार