काठमान्डौ
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाएको छ। बुधबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो।
समितिका एकजना सदस्यका अनुसार चोलेन्द्रलाई आगामी भदौ १५ गते बिहान ११ बजे बस्ने बैठकमा बयानका लागि बोलाउने निर्णय भएको हो।
यसअघि मंगलबार बसेको बैठकले जबरालाई सफाइ पेस गर्न मौका दिनेगरी कार्यतालिका बनाएको थियो।
महाभियोग सिफारिस समितिले भदौ २९ भित्र जबराविरुद्धको महाअभियोगबारे अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। बुधबार तेस्रोपटक बसेको बैठकले यस्तो निर्णय गरेको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने २५ भित्रै अध्ययन सकेर प्रतिनिधि सभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको थियो।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलले २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए।
यसबारे अध्ययन गर्न फागुन २१ गते सिफारिस समिति गठन गरिएको थियो। तर समितिले जबराबारे अध्ययन गर्ने जिम्मेवारी गत साउन २२ गते मात्रै पाएको थियो।