बालेन शाह एक्सनमा, काठमान्डौमा बनेको अवैध संरचना भत्काउन थालेपछि व्यापारीमा खैलाबैला

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइदिएको छ। 

काठमाडौं महानगरपालिकाले नक्सापासबिनाका अवैध संरचना भत्काउन थालेपछि व्यापारीमाझ खैलाबैला भएको छ।

महानगरपालिकाले बुधबार सुन्धारास्थित काठमाडौं मलअगाडि नक्सापासबिना बनाइएका संरचना डोजर लगाएर भत्काएपछि व्यापारीहरूबीच खैलाबैला भएको हो।

महानगरले अवैध संरचना हटाउन महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको थियो। 

भत्काउने सूचना सम्बन्धित ठाउँमा पनि टाँस गरे पनि अटेर गरेकाले महानगरपालिकाले भत्काउनु परेको अधिकारीहरुले बताएका छन्। 

उनले कसैले पनि कानुन जान्दिन भन्न नपाउने भन्दै कानुनको अवज्ञा कसैले गर्नु नहुनेमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बताए। 

काठमाडौं मलको अवैध संरचना भत्काएसँगै स्थानीय व्यापारीहरूमा खैलाबैला मच्चिएको छ। एक व्यापारीले महानगरले अवैध संरचना भत्काउनु स्वागतयोग्य भए पनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राखे। 

सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाइ छ।

अर्का व्यापारीले आफूहरुले सञ्चय कोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतिमा संरचना भत्काएको भए उपयुक्त हुने बताए। 

उनले आफूहरुको सम्झौता अनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चय कोषसँग कुरा गर्ने बताए।

काठमाडौं मलमै भेटिएका अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको बताउँदै राज्यलाई कर पनि भुक्तानी गरिरहेको जिकिर गरे। 

संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने माग उनले गरे। व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनीहरुले माग गरेका छन्। 

काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबि कम्प्लेक्समा पनि नक्सापासविपरीत बनाएको संरचना भत्काएको छ। त्यहाँ ड्युटीमा खटिएका नेपाल प्रहरीका अधिकारीले संरचना भत्काउने मूल जिम्मेवारी महानगरको भए पनि सुरक्षाका लागि उपस्थित भएको बताए। 

उनले अण्डरग्राउण्ड पार्किङका लागि नक्सा स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको संरचनाहरु हटाउँदै जाने सूचना आफूले पाएको बताए।

अवैध संरचना हटाउन दुवै स्थानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ पुगेका थिए। 

ताजा समाचार