चुनावमा एउटै घोषणापत्र, लगत्तै पार्टी एकता 

६ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित प्रचण्डको नातेदारको घरमा सोमबार भएको छलफलमा दुवै तर्फका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेताहरु तयार भएका छन् । त्यसका लागि दुई वटा काम तत्काल अगाडि बढाउने निर्णय भएको छ ।

भोलि वा पर्सि नै एकता संयोजन समिति गठन हुन्छ र एकताको अवधारणापत्र तयार हुन्छ’, ती नेता भन्छन् । एकता संयोजन समितिमा दुवै दलबाट पाँच/पाँच जना रहनेछन् । त्यो समितिको नेतृत्व दुवै दलका अध्यक्षले गर्नेछन् ।

१ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल नै एकता संयोजन समितिमा बस्नुपर्ने सुझाव दिएका थिए । त्यसैअनुसार, माओवादी केन्द्रबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाइनुपर्ने तर्क उनीहरुको थियो ।

एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधर, पार्टी एकताका निम्ति तयार पारिने अवधारणापत्रमै एकतासम्बन्धी कार्ययोजना प्रष्ट पारिने बताउँछन् । ‘तत्काल अवधारणापत्र बन्छ, त्यसपछि अलग–अलग घोषणापत्र लैजाने कि संयुक्त बनाउने भन्नेबारे छलफल हुन्छ’, तुलाधर भन्छन् ।

ताजा समाचार