काठमाडौँ — नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले नेपाली पक्षसँग द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिँदै काठमाडौंमा शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे । साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
नेपालको चार दिने भ्रमणका लागि बिहीबार नेपाल आएका जनरल फ्लिनले शुक्रबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरे ।
‘उहाँ (जनरल फ्लिन) शिष्टाचार भेट गर्न आउनु भएको थियो । उहाँले सम्माननीय राष्ट्रपति ज्यू समक्ष आफू नेपालमा पहिलो पटक आएको अवगत गराउनुभयो । साथै, उहाँले नेपाली सेनाको प्रधानसेनापतिको अमेरिका भ्रमणको पूर्व तयारीको लागि भ्रमण गरेको पनि बताउनु भयो,’ राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले भने । ढकालका अनुसार जनरल फ्लिनले नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य रहेको उल्लेख गर्दै यसलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले उक्त अवसरमा नेपाल शान्तिको पक्षमा रहेको तथा शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको स्मरण गराउँदै नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा काम गरिरहेको बताएको ढकालले जानकारी दिए । ‘सम्मानीय राष्ट्रपति ज्यूले शान्ति स्थापनाको लागि अन्तर्राष्टिय समुदाय र अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो,’ ढकालले भने ।
विगत केही वर्षयता नेपाली सेनाले अमेरिकी सेना, भारतीय सेना र चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्दै आएको छ । साथै, नेपाली सेनाले अमेरिका, भारत र चीनसँग भूकम्प, कोभिड–१९ र अन्य समयमा पनि सहयोग लिँदै आइरहेको छ ।
राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुअघि जनरल फ्लिन बालुवाटारमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवालाई शिष्टाचार भेट गर्न पुगेका थिए । उक्त अवसरमा नेपाल र अमेरिका दुई मुलुकका सेनाबीचको सहकार्यको बारेमा कुरा भएको थियो । साथै, अमेरिकी सेनाले नेपाली सेनालाई विभिन्न समयमा गरेको सहयोगलाई लिएर प्रधानमन्त्री देउवाले धन्यवाद दिएको परराष्ट्र स्रोतले बतायो ।
जनरल फ्लिनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटको क्रममा मानवीय सहायता र विपद् व्यवस्थापन लगायत विषयमा छलफल गरेको अमेरिकी दूतावासले जनाएको छ । राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको जनरल फ्लिनले प्रशंसा पनि गरेका थिए ।
प्रधानमन्त्री देउवालाई भेट्नुअघि जनरल फ्लिन सैनिक मूख्यालय जंगी अड्डा पुगेका थिए । उनको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत दिएको थियो । नेपाली सेनाको अपरेसनल गतिविधिका बारेमा प्रस्तुतीकरण समेत गरिएको सेनाले जनाएको छ । त्यसपछि प्रधान सेनापति शर्मा र जनरल फ्लिनबीच भेटवार्ता भएको थियो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
उच्चपदस्थ अधिकारीहरुबाट विगतमा भएका सदभावना भ्रमणको निरन्तरता स्वरुप रहेको यस चार दिने औपचारिक भ्रमणको क्रममा शनिबार जनरल फ्लिन हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी हुने कार्यक्रम छ । साथै, आइतबार उनी पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी सोही दिनमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
‘मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सदभाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ ।