पिडीताले बयान फेरे पनि पल शाहलाई छाडेन अदालतले, अझै थुनामा राख्न उच्च अदालतको आदेश 

पोखरा

नाबालिगलाई ललाई फकाई गरी करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत कास्कीले आदेश सुनाएको छ ।

उच्च अदालतले जिल्ला अदालत तनहुँ र पूर्वी नवलपरासी अदालतकै आदेशलाई सदर गरेको हो । तारिकमा रिहाको माग गर्दै पल शाहका वकिलले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए ।

चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो । त्यसको केही दिनपछि पूर्वी नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो ।

बिहीवार उच्च अदालतमा पल शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए ।

शाहविरुद्ध जाहेरी दिने नाबालिग र उनका पिताले तनहुँ र नवलपरासीको दुवै अदालतमा बकपत्र गर्ने क्रममा बयान फेरिसकेका छन् ।

ताजा समाचार