मनसुन सुरु हुनेबित्तिकै मुलुकमा बाढी-पहिरोको बितण्डा सुरु भइसकेको छ । कोरोना महामारीले देशव्यापी संकट सामना गर्नुपरेका बेला फेरि अर्को विपत्ति थपिन पुगेको हो । केही दिनदेखि अविरल परेको वर्षाका कारण पहिरो तथा बाढीका कारण ठाउँ-ठाउँमा ठूलो जनधनको क्षति भए पनि त्यसको सम्पूर्ण विवरण भने आइसकेको छैन । हरेक वर्षायाममा बाढी-पहिरोको विध्वंश भोग्नुपर्ने नेपालीको नियति जस्तै बनेको छ । प्राकृतिक प्रकोप भनिने यस्ता विपत्ति न्यूनीकरण गर्नुपर्नेमा मानवीय कारणबाटै अझै भयावह रूपमा निम्तिएका छन् । हिमाली र पहाडी भेगबाट सुरु भएको बाढी तराई डुबानको समस्यासमेत थपिएर भोग्न भने अझै बाँकी नै छ ।
कहाँ कति क्षति ?
मनाङमा बाढीले तीन सय परिवार विस्थापित
मनाङको चामेमा बाढीका कारण तीन सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मस्र्याङ्दी नदीको जलस्तर अत्यधिक माथि गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । तिलिचो तालभन्दा तलको बस्ती डुबानमा परेपछि त्यहाँका स्थानीय डाँडामा आश्रय लिएर बसेका छन् । अपर मस्र्याङ्दीको न्याओल भन्ने स्थानमा पनि पहिरोको जोखिम बढेको छ । प्रशासनले त्यहाँका मानिसलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
बागलुङमा ४९ घर पहिरोको उच्च जोखिममा
अविरल वर्षाका कारण बागलुङको विभिन्न स्थानमा ४९ घर पहिरोको जोखिममा परेका छन् भने दर्जन बढी परिवार विस्थापित भएका छन् । पहिरोका कारण बस्ती जोखिममा परेका पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गुल्मीका १२ ठाउँमा बाढीपहिरो
गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढीपहिरो गएको छ । बाढी-पहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरू अवरुद्ध भएका छन् । धुर्कोट गाउँपालिका–५ र ७ मा पहिरो जाँदा तीन घर विस्थापित भएका छन् । यस्तै, मदाने गाउँपालिका–२ म्यालपोखरीमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् । रुरुक्षेत्र गाउँपालिका–१ लामाचौरपारीमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरू पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुबानमा परेका हुन् । कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटमा एक घर र सिलाजी मन्दिर कालीगण्डकीको बाढीको जोखिममा परेका छन् ।
यस्तै, बाढीले पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणीका पनि नौ घर बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका- का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका- शालीग्रामको एक घरधुरी बाढीले बगाएको हो ।
पर्वतमा ५० परिवार विस्थापित
अविरल वर्षाले आएको बाढी-पहिरोबाट पर्वतका विभिन्न बस्तीका घरमा क्षति पु¥याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाहरूको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । पहिरोका कारण जिल्लाभरिका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध बनेका छन् । त्यसैगरी, खेतीयोग्य जमिनसमेत पहिराले पुरिएको स्थानीय तहहरूले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरि बाढी-पहिरोले क्षति भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ । क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दीका ४० घर विस्थापित
बाढी-हिरोका कारण म्याग्दीमा ४० घरपरिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिका–५ धस्केखोरियामा पहिरोले नौ घरमा क्षति पु¥याएको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । त्यसैगरी, बेनी नगरपालिका-४ का १३ परिवार पनि विस्थापित भएका छन् । बाढीका कारण बेनी अस्पताल चोकमा समेत क्षति पुगेको छ । प्रवक्ता कुँवरका अनुसार म्याग्दीको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बाढी पसेको छ । बाढी पसेपछि त्यहाँका सामान सुरक्षित ठाउँमा सारिएको छ ।
नारायणी नदी तटीय क्षेत्र जोखिममा
नारायणी नदीमा आएको बाढीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । जिल्लाभित्र पर्ने नारायणी तथा राप्ती नदी एवं रिउलगायत खोलामा पानीकोे सतह बढेका कारण बाढी, डुबान, पहिरो तथा नदी तटीय क्षेत्रमा कटान हुन सक्नेतर्फ संकेत गर्दै प्रशासनले सतर्क गराएको छ ।
नारायणी नदीको बाढी पसेपछि भरतपुर महानगरपालिका २६ र २७ वडाका करिब २३७ घरलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । नारायणी, कालीगण्डकी, भेरी, र यसका सहायक नदी, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका सहायक नदी र जलाधार क्षेत्रमा बहाब बढेको छ । बाढीले ठाउँठाउँका सडक भत्किएर क्षति पु¥याएको छ । यस्तै, प्रशासनले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
दाङस्थित राप्तीको टापुमा फसेकाको उद्धार
दाङस्थित राप्ती नदीको टापुमा १९ घण्टादेखि फसेका चार जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउँपालिका–२ बेला स्थित राप्ती नदीको बीचटापुमा मंगलबार दिउँसो २ बजेदेखि फसेका चार जनाको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिनुभयो । टापुको दुवैतिर राप्ती नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो वस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै बाढी आएपछि करिब ५० वटा गाईवस्तुसँगै अलपत्र परेका थिए ।
रुपन्देहीमा पनि बस्तीमा पस्यो बाढी
रुपन्देहीका विभिन्न बस्तीहरूमा बाढी पसेको छ । बुटवलको तिनाउ खोलामा आएको बाढीले नदी किनारमा रहेका बस्तीहरूमा प्रत्यक्ष असर परेको छ । नदी किनारका मर्चवार, देवदह, तिलोत्तममा बाढी प्रवेश गरेको छ । तिनाउकै कटानले बुटवल-११ स्थित पवित्रनगरका आठ घर जोखिममा परेका छन् । तिलोत्तमा-१७ मा १० भन्दा बढी घर डुबानमा परेका छन् ।
पाल्पामा सडक अवरुद्ध, एकजनाको मृत्यु
वर्षासँगै आएको पहिरोका कारण पाल्पामा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका-८, गौडेपुलनजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो । पाल्पाकै आर्यभञ्ज्याङ-रामपुर सडक पनि पहिरोकै कारण अवरुद्ध भएको छ । पाल्पाको माडी, डुम्रेमा, बाँसटारीमा अविरल वर्षासँगै आएको बाढीले खेत कटान सुरु गरेको छ । डुम्रे खोलाछेउका ३ घर उच्च जोखिममा परेका छन् ।
पूर्वी नवलपरासीका ४० घर डुबानमा
बाढीका कारण पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैँडाकोट-२ का ३५ घर र कावासोती नगरपालिका-१७ अमलटारीका ५ वटा होटेल गरी ४० घर डुबानमा परेका हुन् । ३५ घरलाई सुरक्षित स्थान अक्सअफोर्ड कलेजको भवनमा सारिएको प्रहरीले जनाएको छ । पाँच होटलमा फसेकालाई उद्धार गरी सामुदायिक भवनको घरमा सारिएको छ ।
यस्तै, अविल वर्षाका कारण आएको बाढीले नारायणी नदीमा पानीको सतह खतराको विन्दुमा पुगेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । पछिल्लो समय सो ब्यारेजबाट चार लाख १२ हजार क्युसेक पानी बगिरहेको छ । नदीमा पानीको वहाव उच्च भएपछि दक्षिणी भेगका बस्तीहरू उच्च जोखिममा परेका छन् । पालही ननन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाका बस्तीहरूमा बाढी पसेको छ ।
उद्धार तथा राहतमा जुट्न विभिन्न दल तथा नेताहरूको आग्रह
देशका विभिन्न ठाउँमा तीन दिनदेखि लगातार परिरहेको पानीले मच्चाएको बितण्डाका कारण आएको पहिरो र डुबानमा परेकालाई उद्धार तथा राहतमा जुट्न विभिन्न दल तथा नेताहरूले आग्रह गरेका छन् । बुधबार विज्ञप्ति निकालेर उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
सत्तारूढ नेकपा एमालेले मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन पार्टीका जनप्रतिनिधि, पार्टी समिति र युवा पंक्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न माग गर्नुभएको छ ।
‘नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,’ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, बाढी–पहिरो प्रभावितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारसँग माग गर्नुभएको छ । सभापति देउवाले विपद्का कारण उत्पन्न संकटमा उद्धार र राहतका लागि तत्काल खटिनसमेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
उहाँले विज्ञप्ति जारी गरी विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत माग गर्नुभएको छ । ‘केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु,’ देउवाले भन्नुभएको छ ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी–पहिरोमा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहत दिन सरकारसँग आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले बुधबार एक विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुभएको हो । उहाँले बाढी–पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पंक्तिलाई एकीकृत रूपमा परिचालित हुनसमेत आग्रह गर्नुभएको छ । यस्तै, माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी–पहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गरेको विज्ञप्तिमा खोज, उद्धार र राहत कार्यमा जुट्न आग्रह गरिएको हो ।
त्यसैगरी, पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले बाढी-पहिरो प्रभावितका लागि राहत र आवासको व्यवस्था मिलाउन अपिल गर्नुभएको छ । नेपालले बुधबार सामाजिक सञ्जालमार्फत तत्काल उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्नुभएको छ ।
विपद् व्यवस्थापनमा जुट्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण हाल उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति रोक्न समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ । उहाँले सरकारले विपद् पूर्व नै सम्भावित जोखिमको आंकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबार सम्पन्न छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपांगता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । यसैगरी ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरूमै कोभिड–१९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने पनि बताउनुभयो । उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीय स्तरमा बन्ने संशाधन प्रयोग गर्न पनि उहाँले जोड दिनुभयो ।
राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । यसै गरी तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो । यसैगरी पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्नुपर्ने निर्देशन पनि प्रधानमन्त्रीले दिनुभयो ।
बैठकमा सम्बद्ध मन्त्रीहरू, प्रधानसेनापति लगायतका सुरक्षा निकायका प्रमुखहरू, मुख्य सचिव एवं सम्बद्ध निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । उहाँहरूले स्थानीय निकायको परिचालन गरी राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्न सुझाव दिनुभएको थियो ।