काठमान्डौ
मंसिर ४ को निर्वाचनमा ५० सिट जित्ने योजना सहित चुनावमा होमिएको माओवादीले सोचे जस्तो सिट जित्न नसके पनि चुनाव अगाडी तेस्रो दल बनेर सरकार निर्माणको मुख्य चाबी आफ्नै हातमा हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी सत्य सावित भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ करिब १० प्रतिशत मात्र सिट जितेको माओवादीको मनोबल केही खस्किए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको महत्वाकांक्षा कमजोर भएको छैन । गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रयासमा लागेका उनले अन्यथा विकल्प पनि खोज्न सक्ने सन्देश दिइरहेका छन् । अर्थात् नेपाली कांग्रेस र नेकपा एमाले दुवै सरकार बनाउन माओवादीमै निर्भर हुने अवस्थालाई उनले राम्रोसग बुझेका छन ।
चुनावी समीक्षा गर्न शनिबार र आइतबार बोलाइएको माओवादी पदाधिकारी बैठकमा अध्यक्ष दाहालले गठबन्धन सरकारमै सहभागी हुने बताएका थिए । ‘हामी गठबन्धनमै छौं, यसमा कुनै भ्रम नहोस् । पार्टीको निष्कर्ष पनि यही हो,’ उनको भनाइ थियो, ‘कांग्रेस र अरू दललाई विश्वासमा लिएर मैले गठबन्धन बनाएको हो । यसको विकल्प खोज्नु नैतिक र राजनीतिक रूपमा अनुचित हुन्छ ।’
निकट नेताहरूका अनुसार भने दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रतिनिधिहरूसँग पनि संवाद जारी राखेका छन् । गठबन्धनको स्थायित्वमा देउवा र दाहाल दुवै ढुक्क नरहेकाले पहिले आफैं सरकारको नेतृत्व लिन चाहन्छन् । यसमा सहमति भएन भने गठबन्धनको विकल्पमा जाने सम्भावना पनि छ ।
संसद्को शक्ति सन्तुलनका दृष्टिले कांग्रेसले सरकारको नेतृत्व लिँदा माओवादीलाई, माओवादीले सरकारको नेतत्व लिँदा कांग्रेसलाई राष्ट्रपति पद दिनुपर्ने गरी समझदारी बनाउनुपर्ने मत गठबन्धनभित्र छ । प्रधानमन्त्री पद आलोपालो गर्न सकिने भए पनि राष्ट्रपति पाँच वर्ष रहनेछन् ।
सरकारको नेतृत्व आलोपालोमा गए पनि राष्ट्रपति माओवादीलाई दिन नहुने मत कांग्रेसभित्र बलियो छ । ‘आलोपालो सरकारमा जाने, पहिला कांग्रेसले प्रधानमन्त्री लिने र राष्ट्रपति माओवादीलाई दिने हो भने साढे दुई वर्षपछि कांग्रेसको भागमा केही पर्दैन, पार्टीका लागि त्योभन्दा क्षति अरू हुन्न,’ कांग्रेसका एक नेता भन्छन्, ‘तत्कालका लागि होइन, भोलिका दिनसम्म संसद्को सन्तुलन मिल्ने गरी हिसाब गर्नुपर्छ ।’
दाहालका तिन दाउ
चुनावी परिणाम अपेक्षाकृत नभएको अवस्थामा माओवादीसँग तीन रणनीति तयार छन्।
पहिलो, आफ्नै नेतृत्वको गठबन्धन सरकार
दोस्रो, गठबन्धन छाडेर पनि आफ्नै नेतृत्वमा सरकार
र, तेस्रो, राष्ट्रपति लिएर गठबन्धनकै सरकार।
नेताहरुका अनुसार माओवादीले यसबारे छलफल गरिसकेको छैन।
शनिबार र आइतबार पेरिस डाँडामा बसेको अनौपचारिक पदाधिकारी बैठकले गठबन्धन छाडेर नजाने समझदारी बनाएको छ।
यस्तोमा माओवादीले पहिलो विकल्प रोजेर आफ्नै नेतृत्वमा सरकार बनाउने गरी प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई अगाडि सार्ने निश्चित छ ।
दोस्रो, गठबन्धनको बैठकमा सरकार निर्माण गर्दा नेतृत्व आफ्नो भागमा पर्ने अवस्था नभए विकल्पतिर जाने सम्भावना बलियो छ।
‘त्यसबेला माओवादीलाई प्रधानमन्त्री दिएर भए पनि अन्य घटकले सरकार बनाउन सक्छन्,’ एक नेताले भने, ‘त्यो अवस्थामा कुन कुन दल मिल्छन् भन्ने कुरा अहिले नै भन्न हतार हुन्छ।’
माओवादीका पदाधिकारीहरु पनि पहिलो चरण सरकारको नेतृत्वको विषयमा गठबन्धनमा समस्या नहुने बताउँछन्।
महासचिव देव गुरुङले सरकारको नेतृत्वमा आफूहरुको दाबी स्वभाविक भएको बताए।
‘संविधान निर्माणदेखि अहिलेसम्मको अवस्था हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी रहन्छ र, त्यो स्वाभाविक हुन्छ,’ गुरुङले आइतबारको पदाधिकारी बैठकपछि भने, ‘तर अहिले एक्लै सरकार बन्ने अवस्था छैन, त्रिशंकु संसद् छ, कसैसँग नमिली हुँदैन। यस्तोमा दलहरूको सहमति कहाँनेर हुन्छ, त्यसमा भर पर्छ, गठबन्धनमा त्यही विषयमा छलफल हुन्छ।’
शनिबार र आइतबारको पदाधिकारी बैठकले यही म्यान्डेट नेतृत्वलाई दिएको छ।
‘हामीले नै सरकारको नेतृत्व लिनुपर्छ, त्यही आधारमा गठबन्धन बैठकमा छलफल गर्न सुझाव दिएका छौँ,’ एक पदाधिकारीले भने, ‘सरकार बनाउन सबै पक्षसँग छलफल गर्ने भूमिका अध्यक्ष (प्रचण्ड) लाई दिएका छौँ।’
आफ्नो नेतृत्वमा सरकार चलाउन नपाएको खण्डमा माओवादीले अन्य दलको प्रस्तावमाथि पुनर्विचार गर्नेछ।
उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले शनिबारको पदाधिकारी बैठकलगत्तै अन्य विकल्प खुला राखेको बताउनुको कारण त्यही थियो।
‘माओवादीसँग विभिन्न पार्टीका नेताहरुले छलफल गरिरहेका छन्। सरकार बनाउन एउटा भूमिका माओवादीको पनि छ,’ अर्का माओवादी नेताले भने, ‘विभिन्न प्रस्ताव आएका छन्। तर, सरकारमा आफ्नै नेतृत्व नभई यताउता गर्ने पक्षमा छैनौँ।’
दुई दिनको बैठकमा प्रचण्डलाई सुझाव दिने नेताहरुले पनि यसपटक नेतृत्व नलिई सरकारमा जान नहुने सुझाव दिइरहेका छन्।
तर, प्रचण्डले अर्को योजना पनि तयार पारिसकेका छन्।
त्यो योजना अनुसार गठबन्धन नछोडी राष्ट्रपति लिएर माओवादी सरकारमा सामेल हुनसक्छ। तर, त्यसबेला कम्तीमा ३ वटा प्रदेशका मुख्यमन्त्री माओवादीले चाहन्छ।
प्रचण्डले राष्ट्रपतिका लागि केही नेताहरुमाथि नजर लगाएका छन्।
तर, यो तेस्रो रणनीति हो। यसलाई प्रचण्ड आफैँले धेरै प्राथमिकतामा राखेका छैनन्।
यदि यसो भएको खण्डमा आफ्नो पक्षमा दृढतापूर्वक उभिने, गुटगत मानसिकता नभएको र प्रभावकारी काम गर्न सक्ने नेतालाई राष्ट्रपति बनाउने प्रचण्ड रणनीति छ।
‘निर्णायक तर, बलियो भूमिका निर्वाह गर्न सक्षम नेतालाई राष्ट्रपतिमा अगाडि बढाउने अध्यक्षको चाहना छ, उहाँ यसबारे केही नेताहरुसँग छलफलमा हुनुहुन्छ,’ अर्का एक पदाधिकारीले भने।
माओवादी सचिव दीनानाथ शर्माले सरकारलाई लिएर गठबन्धनभित्रै पावर सेयरिङ हुने बताए।
‘गठबन्धन बैठकमै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत संघ र प्रदेशका मन्त्रालय बाँडफाँट प्याकेजमै हुन्छ’, शर्माले भने, ‘अहिले यो लिने र त्यो लिने भनेर गठबन्धन दलहरु प्रस्तुत हुनु हुँदैन।’
माओवादीले गठबन्धनबाट बाहिर नजाने निर्णय गर्नुको पछाडि त्यही कारण रहेको उनले दाबी गरे।
तर, नेताहरुका अनुसार यसपटक माओवादीले सत्ताको नेतृत्व गर्ने पहिलो चाहना राखेको छ।
‘पहिलो कार्यकालको प्रधानमन्त्री हाम्रो अध्यक्ष प्रचण्ड नै हुनुहुन्छ, हामीले यही कुरा गठबन्धनका नेताहरुसँग अनौपचारिक रुपमा राखिसकेका छौँ,’ एक नेता भन्छन्, ‘सत्ताको नेतृत्वका लागि अन्य विकल्प पनि खुला हुन्छ। कांग्रेसका केही नेताहरुले भित्र भित्र के पकाइरहेका छन् भन्ने हामीलाई सूचना आएकै छ।’
माओवादीले कांग्रेसभित्रका दुई खेमाले समस्या पार्ने भएकोले सरकारमा नेतृत्व दाबी गर्न लागेको ती नेताले बताए।
‘हाम्रो अध्यक्ष प्रचण्ड सहमतिको पालना गर्न कहीँ चुक्नुभएको छैन, यो कुरा कांग्रेसले राम्रैसँग बुझेको छ’, ती नेताले थपे, ‘यसपटक पहिलो चरण हामी सरकारको नेतृत्व गर्छौँ, त्यसपछि कांग्रेसलाई छोड्छौं।’