काठमाडौँ — सूर्य वा चन्द्रमा छेकिएर जब छाया पर्छ, त्यही हो ग्रहण । थुप्रै कथा–कहानी छन् सूर्य तथा चन्द्रग्रहणमाथि । यो किन लाग्छ, यसको असर के हुन्छ, पृथ्वी, मान्छे र जीवन जगत्मा पर्ने प्रभावमाथिको विश्लेषण वैज्ञानिकहरूका लागि जहिल्यै उत्सुकता रहिआएको छ ।
यस पटक हामी फेरि सूर्यग्रहणको नजिक छौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आगामी मंगलबार अपराह्न ४ः५२ बजेदेखि करिब ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिनेछ । अपराह्न लाग्ने खण्डग्रास सूर्यग्रहण तराईभन्दा पहाडी र खुला क्षेत्रबाट मात्रै देखिनेछ ।
‘सम्म परेका भू–भागबाट नदेखिन सक्छ, पहाडी क्षेत्रबाट गएर देख्न सकिएला तर नांगो आँखाले चाहिँ हेर्न हुँदैन,’ सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘सूर्य आफैंमा एउटा ठूलो तारा हो । यसलाई हेर्नका लागि आँखामा समस्या पर्न सक्छ ।’ सोसाइटीले विभिन्न ठाउँमा समन्वय गरेर सातै प्रदेशमा हेर्न सक्ने सम्भावना रहेको जनाएको छ । ग्रहण हेर्नै नहुने भन्ने होइन, अध्ययनका लागि पनि हेरिन्छन् । अवलोकन सुरक्षित तवरले साधनका माध्यमले गर्न सकिन्छ । घरमै बसेर पिन होल क्यामेरा मेथडबाट अवलोकन गर्न सकिने भट्टराई बताउँछन् । घरमै उपलब्ध स्रोतसाधनबाट छाया पारेर हेर्न सकिने उनी प्रस्ट्याउँछन् । सूर्यग्रहण हेर्न पाइने विशेष किसिमको चस्मा पनि प्रयोग गर्न सकिने उनले बताए । खगोलशास्त्रीहरूले जहिल्यै चन्द्रग्रहण जस्तो सूर्यग्रहणलाई सिधा आँखाले हेर्न नहुनेमा सबैलाई सतर्क गराउँदै आएका छन् ।
सूर्यग्रहणमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा एउटा लहरमा हुन्छ । ‘पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ, चन्द्रमाले पृथ्वीलाई । परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आइपुग्छ,’ नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) का सहप्राज्ञ एवं खगोल अध्येता विनोद अधिकारी भन्छन्, ‘चन्द्रमा पृथ्वी र सूर्यको बीचमा हुँदा सूर्यबाट आउने प्रकाश चन्द्रमाले छेकिदिन्छ । जसका कारणले चन्द्रमाको छाया पृथ्वीमा पर्छ ।’ अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार ग्रहण यस्तो आकाशीय घटना हो, जहाँ हामीले देख्दै आएको दुई ठूला वस्तु, सूर्य र चन्द्रमाको वस्तुको रूप परिवर्तन गरिदिन्छ । कुनै पनि एउटा आकाशीय पिण्डले अर्को आकाशीय पिण्डलाई छेकेर सूर्यको प्रकाश जानबाट रोक्दा ग्रहण लाग्ने गर्छ । ग्रहण लागेको बेला आकाशीय पिण्डको छाया अर्को वस्तुमा देखिन्छ ।
औंसी र पूर्णिमामा
नासाका अनुसार ग्रहण दुई प्रकारका छन्– सूर्य र चन्द्रग्रहण । सूर्यग्रहणका बेला चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा हुन्छ । यस्तै, चन्द्रग्रहणका बेला पृथ्वी सूर्य र चन्द्रमाको बीचमा हुन्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी र सूर्यको बीचतिर हुँदा औंसीको समय हुन्छ भने पृथ्वीबीचमा हुँदा चाहिँ पूर्णिमाको समय । परिक्रमा गर्ने क्रममा कहिलेकाहीं एउटै सरल रेखामा पर्दा, छाया पृथ्वी र चन्द्रमामा पर्ने भएकाले ग्रहण देखिएको विज्ञहरू बताउँछन् ।
हरेक औंसी र पूर्णिमाको समयमा ग्रहण देखिनुपर्ने हो तर त्यसो हुँदैन । सहप्राज्ञ अधिकारी भन्छन्, ‘चन्द्रमाको कक्ष पृथ्वीको तुलनामा ५ डिग्रीले कोल्टे हुन्छ । पृथ्वीलाई परिक्रमा गर्ने क्रममा वर्षमा अधिकतम ७ पटकसम्म एउटा सरल रेखामा हुन्छन् । त्यहीबेला ग्रहण देखिन्छ ।’ चन्द्रमा अक्सर पृथ्वीको कक्षभन्दा केही तल वा माथि हुँदै परिक्रमा गर्छ । तर, कोणीय अन्तरका कारण सिधै छाया नपर्ने भएकाले ग्रहण नदेखिएको उनले जनाए । तर, वर्षमा त्यस्ता ७ वटासम्म घटना हुने गरेको उनले सुनाए । सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई केही ढाकेको जस्तो देखिन्छ । जुन बेला चन्द्रमाको छाया पृथ्वीमा पर्दा अँध्यारो भएको जस्तो देखिन्छ । चन्द्रग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी हुने र सूर्यबाट चन्द्रमामा जाने प्रकाश पृथ्वीले ढाकिदिँदा पृथ्वीको छाया चन्द्रमामा पुग्छ ।
चन्द्रग्रहण सबै ठाउँबाट एउटै देखिने हुन्छ । तर, सूर्यग्रहण भने फरक–फरक देखिने हुन्छ । कात्तिक ८ मा हुने सूर्यग्रहण युरोप, दक्षिण र पश्चिम एसिया, उत्तर र पूर्वी अफ्रिका र एटलान्टिकबाट मात्रै देखिन्छ । तर, पृथ्वीको अन्य ठाउँबाट भने नदेखिने सहप्राज्ञ अधिकारीले बताए । ‘सूर्य चन्द्रमाभन्दा ४ सय गुणा ठूलो छ, अनि चन्द्रमा र पृथ्वीबीचको दूरीभन्दा सूर्य चार सय गुणा टाढा छ । आकाशमा हामीले हेर्दा दुवै उत्रै देखिन्छन्,’ उनी भन्छन्, ‘सूर्य हामीभन्दा धेरै टाढा र निकै ठूलो छ । यो पनि एउटा चन्द्रमाले सूर्यबाट आउने प्रकाशलाई पुरै ढाक्ने अवसर विरलै हुन्छ र केही भाग ढाक्दा एउटा क्षेत्रमा देखिने अर्कोमा नदेखिने हुन्छ ।’
ग्रहणका प्रकार
सूर्यग्रहण विभिन्न प्रकारका हुन्छन् । नासाका अनुसार सूर्यग्रहण खग्रास, खण्डग्रास, बलयकार र हाइब्रिड खालका हुन्छन् । खग्रास सूर्यग्रहण (पूर्ण ग्रहण) चाहिँ धेरै वर्षपछि मात्रै देखिने भट्टराई बताउँछन् । खग्रास सूर्यग्रहण हेर्नका लागि एक ठाउँबाट करिब ३ सय ६० देखि ४ सय १० वर्षभन्दा बढी समय लाग्ने विज्ञहरूको मान्यता छ । खग्रास सूर्यग्रहणका बेला चन्द्रमाले सूर्यलाई पुरै ढाकेको देखिन्छ । यसरी ढाकेका बेला सूर्यको सौर्य ज्वाला (कोरोना) पनि देखिने विज्ञहरू बताउँछन् । पूर्ण सूर्यग्रहण वा खग्रास सूर्यग्रहण लाग्दा सूर्यलाई चन्द्रमाले अधिकतम ७ मिनेटसम्म मात्रै छेक्न सक्ने उनले बताए । पूर्ण सूर्यग्रहणमा चन्द्रमा पृथ्वीको केही नजिक आएको जस्तो देखिने नासाले राखेको ग्रहणसम्बन्धी विवरणमा उल्लेख छ ।
खण्डग्रास सूर्यग्रहणमा सूर्यको केही भाग मात्रै चन्द्रमाले छेकेको देखिन्छ । बलयकार सूर्यग्रहणमा चाहिँ चन्द्रमा पृथ्वीबाट टाढा हुन्छ र सूर्यबाट आउने प्रकाश बीच भागमा छेकिदिँदा बाला आकार देखिन्छ । त्यही बाला आकारको छेउछाउमा चम्किलो देखिने हुँदा यसलाई बलय सूर्यग्रहण भनिएको भट्टराई बताउँछन् । पृथ्वीको सतहमा कुनै ठाउँबाट पूर्ण वा बलयकार सूर्यग्रहण देखिने भएकाले त्यस्तो सूर्यग्रहणलाई हाइब्रिड भनेर नासाले व्याख्या गरेको छ । सूर्यग्रहण ठाउँपिच्छे फरक–फरक देखिन्छ भने चन्द्रग्रहण सबै ठाउँबाट एउटै देखिने नासाले जनाएको छ । सूर्यग्रहण वर्षमा २ देखि ५ वटासम्म हुने गरेको देखिएको छ । सन् २०२२ मा भने २/२ वटा सूर्य र चन्द्रग्रहण हुने सहप्राज्ञ अधिकारीले बताए । अबको अर्को सूर्यग्रहण सन् २०२३ को अप्रिल २०, अक्टोबर १४ र सन् २०२४ मा ८ अप्रिल र २ अक्टोबर हुने प्रक्षेपण गरिएको छ ।
के छ धार्मिक मान्यता ?
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई ग्रहण लाग्दा प्रवाह हुने सूर्यको विकिरणले मानिसमा नकारात्मक असर गर्ने भएकाले जीउमा आलस्यता हुने धार्मिक मान्यता रहेको बताउँछन् । ‘सूर्यलाई सिधै हेर्दा विकिरणले असर गर्ने भएकाले नहेर्नु भनिएको हो,’ उनले भने । सूर्यग्रहणका कारण यस वर्ष लक्ष्मीपूजा सरेको भन्ने कुरा अफवाह भएको उनले प्रस्ट पारे । भट्टराईका अनुसार तिहारमा जुन दिन औंसीको घडीमा प्रदोष समय भेटिन्छ, त्यसै दिन लक्ष्मीपूजा गरिन्छ । सूर्य अस्तको अगाडि र पछाडिको ६ घडीलाई प्रदोष समय भनिने उनले बताए । एक घडी बराबर २४ मिनेट हुन्छ । यस वर्ष चतुदर्शी सकिएर औंसीको घडी कुकुर तिहारको दिन पर्ने भएकाले लक्ष्मीपूजा त्यसै दिन गर्न लागिएको उनले बताए । ‘भोलिपल्ट प्रदोष समयमा घडी र पला नभेटिएकाले कुकुर तिहारको दिन लक्ष्मीपूजा परेको हो,’ भट्टराईले भने । यस्तै, सूर्यग्रहणका बेला राहुले सूर्यलाई आक्रमण गर्ने र सूर्य निस्तेज हुने धार्मिक विश्वास छ ।
‘राहुले सूर्यलाई आक्रमण गर्दा सूर्यले दिने सकारात्मक प्रभाव पृथ्वीमा नपर्दा त्यस दिन अन्य कार्य नगर्न भनेर भनिएको हो,’ उनले भने । ग्रहण अवधिमा १२ घण्टा पहिलादेखि खान नहुने, ग्रहण लागेका बेला सूर्य अस्ताएपछि भोलिपल्टको नउदाएसम्म खान नहुने जस्ता मान्यता रहेको उनको भनाइ छ । ग्रहण लागेका बेला जप गर्ने, पूजापाठ गर्दा मानिसमा भएका नकारात्मकता हटेर सकारात्मक ऊर्जा प्रवाह हुने प्राध्यापक भट्टराईले बताए । ज्योतिषीहरूले सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण सामान्य रूपमा लिने बताउँछन् ।
विज्ञान के भन्छ
ग्रहणका विषयमा विभिन्न धर्ममा आआफ्नै मान्यता छन् । समाजमा प्रचलित जनविश्वासमध्ये कतिपय पत्याउनै नसकिने खालका छन् । जस्तो कि, ग्रहण लागेका बेला खान हुँदैन भन्ने मान्यता । त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक अजयकुमार झा ग्रहणका बेला खाना खानु हुँदैन भन्ने धारणा मित्था भएको बताउँछन् । ‘सूर्यबाट नियमित रूपमा आउने प्रकाश एउटै हो । अरू बेला चाहिँ असर नगर्ने, अनि ग्रहणका बेला असर गर्ने भन्ने हुँदैन, उनले भने ।’ ग्रहणका बेला खानेकुरा अशुद्ध नहुने उनको भनाइ छ ।
सहप्राज्ञ अधिकारी भन्छन्, ‘सूर्यबाट हरेक समय इलेक्ट्रो म्याग्नेटिक रेडिएसनहरू पृथ्वीमा आइरहेका हुन्छन्, सूर्यग्रहणका बेला सूर्य छेकिएको हुन्छ, रेडिएसन त झन् कम आउँछ । अरू समयमा हिँड्न हुने अनि ग्रहणमा हिँड्न नहुने भन्ने मान्यता गलत हो ।’
ग्रहणका बेला पत्ता लागेको हिलियम
वैज्ञानिकहरू सूर्यग्रहणलाई महत्त्वपूर्ण मान्छन् । अझ सबैभन्दा महत्त्वपूर्ण पूर्ण सूर्यग्रहणलाई लिन्छन्, जुन धेरै वर्षपछि मात्रै आउँछ । सन् १८६८ को अगस्ट १८ मा फ्रेन्च वैज्ञानिक पियरे जेन्सेनले पहिलो पटक हिलियम पत्ता लगाएका थिए । पूर्ण सूर्यग्रहणका बेला सूर्यबाट आउने विकिरणलाई एउटा कलर स्पेक्ट्रममा हेर्दा एक किसिमको पहेँलो लाइन देखिएको थियो । जसलाई उनले नयाँ तत्त्व भनेर व्याख्या गरेका थिए । यसको पुष्टि सन् १८९२ मा भएको थियो । हिलियम पृथ्वीमा कम मात्रामा पाइए पनि ब्रह्मान्डमा पाइने धेरै मात्राको ग्यासभित्र पर्छ । सूर्यग्रहणका बेला पत्ता लागेकाले हिलियमको नाम ग्रिक भाषा ‘हिलियस’ बाट राखिएको हो । ग्रिकमा सूर्यलाई हिलियस भनिन्छ ।