भारतमा त्रिशंकु संसद् : मोदीको तेस्रो प्रधानमन्त्री यात्रा सहयोगी दलमा निर्भर 

नयाँदिल्ली —लोकसभाको चुनाव परिणामले भारतमा आगामी पाँच वर्ष त्रिशंकु संसद् (हङ्ग  पार्लियामेन्ट) रहने तय भएको छ । मतणना जारी छ । तर, आइरहेको मत परिणामले आगामी लोकसभामा कुनैपनि  दलको बहुमत नपुग्ने स्पष्ट देखाएको छ । 

लोकसभामा दलहरुको उपस्थिति र संरचना १० वर्ष पूर्वको अवस्था अर्थात् गठबन्धनको राजनीतिमा केन्द्रित हुँदैछ ।

सन् १९८४ मा राजीव गान्धीको नेतृत्वमा कांग्रेसले बहुमत ल्याएपछि ३० वर्ष पछाडि नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले सन् २०१४ मा बहुमत ल्याएको थियो । बीचको अवधिमा कुनैपनि एक दलको बहुमत थिएन । ९० को दशकमा सरकार छिटोछिटो सरकार फेरबदल भइरहन्थ्यो । तर, कांग्रेसका पीभी नरसिंह रावले तथा भाजपाका अटल बिहारी वाजपेयीले गठबन्धनकै बलमा एक–एक पूरा कार्यकाल सरकार चलाएका थिए । कांग्रेसका मनमोहन सिंहले २००४ देखि २०१४ सम्म त्यसैगरी अन्य दलहरुकै समर्थनमा १० वर्ष सरकार चलाएका थिए । 

५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउनका लागि २ सय ७२ सिट आवश्यक पर्छ । २०१४ मा भाजपा एक्लैले २ सय ८२ र २०१९ मा ३ सय ३ सीट ल्याएको थियो । भाजपासँगको गठबन्धनमा अन्य दलहरु सहभागी रहेपनि भाजपालाई उनीहरुको साथ नभएपनि सरकार चलाउने स्थिति थियो । अहिलेको परिणामले त्यो फेरिने स्पष्ट संकेत दिएको छ ।

मंगलबा साँझसम्मको गणना परिणामका आधारमा यो समाचार तयार पारून्जेलसम्म भाजपाले २ सय ४० सीट जित्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले वारणासी सीटबाट चुनाव जितेका छन् । उनीसँगै भाजपाले ६९ सीट जितेको र १ सय ७१ सीटमा अगाडि छ । बहुमतबाट ३२ सीटले भाजपा पछाडि छ । तर, भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने स्पष्ट बहुमत ल्याइरहेकाले मोदी तेस्रोपटक पुनः प्रधामन्त्री बन्ने सम्भावना कायम छ । एनडीए गठबन्धन २ सय ९४ सीटमा अगाडि छ ।

मोदी पुनः प्रधानमन्त्री भएमा जवाहरलाल नेहरूपछि लगातार तेस्रोपटक चुनाव जितेर प्रधानमन्त्री बन्ने व्यक्ति हुनेछन् । यसअघि लगातार दुईपटक प्रधानमन्त्री बनेका ईन्दिरा गान्धी र मनमोह सिंहको बराबरी मोदीले गरिसकेका छन् । 

मोदीलाई सरकार बनाउन एनडीए गठबन्धनमा रहेको नितिशकुमारको जनता दल यूनाईटेट र चन्द्रबाबू नायडूको तेलेगु देशम पार्टीको अनिवार्य साथको आवश्यकता छ । नितिशको पार्टीले १५ र नायडूको पार्टीले १६ सीट जित्ने देखिएको छ ।

ताजा समाचार