मौसममा सुधार भएपछि बिहीबार लुक्लामा ७० उडान, ५ सय पर्यटकको उद्धार

काठमाडौँ — दसैंपछि एकाएक मौसममा आएको खराबीका कारण हिमाली भेगमा अलपत्र पर्यटकलाई गन्तव्यमा पुर्‍याउन नागरिक उड्डयन प्राधिकरणले हिमाली भेगमा हुने नियमित उडान र हेलिकोप्टर चार्टरलाई खुकुलो गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार खराब मौसमका कारण पर्यटकहरु अलपत्र परेका समाचार सार्वजनिक भएपछि मौसम सुधार भएका दुर्गम र हिमाली भेगका विमानस्थलमा नियमित उडान संख्या वृद्धि गरिएको छ ।

‘वायुसेवाहरुलाई उडान गर्न प्राधिकरणले प्रोत्साहित गरिरहेको छ,’ प्रवक्ता निरौलाले भने, ‘पर्यटकहरुको मुख्य आर्कषण खुम्बु क्षेत्रमा जान नसकेकाहरुका लागि रामेछापको मन्थलीबाट फाप्लु उडान खुला र वृद्धि गरिएको छ ।’ उनले बुधबारअघिका ५ दिन लुक्लामा नियमित उडान नहुँदा रामेछापको मन्थलीमा पर्यटकहरु अलपत्र परेकोमा बिहीबारदेखि मौसममा सुधार आएसँगै उडानहरु वृद्धि भएको बताए ।

‘बिहीबारमात्रै लुक्लामा कम्तीमा ७० वटा उडान भए । तीमध्ये अधिकाशं रामेछापबाट थिए भने काठमाडौंबाट दुईटा भए । ढिलो गरी लुक्ला गर्दा तारा, समिट र तारा एयरले कम्तीमा ५ सय पर्यटक लुक्ला पुर्‍याएका छन् ।

प्राधिकरणका अनुसार रामेछापको मन्थलीदेखि फाप्लु नियमित उडान हुँदैनथ्यो । तर, पर्यटकहरु अलपत्र परेका कारण उनीहरुलाई खुम्बु क्षेत्रमा पुर्‍याउन फाप्लु खुला गरिएको हो । त्यस्तै प्राधिकरणले मन्थलीदेखि लुक्लामाथिको सुर्केसम्म हेलिकोप्टरले चार्टर उडान गरेर पर्यटकहरु ओसारिरहेको जनाएको छ ।

त्यस्तै, कर्णालीको डोल्पमा अलपत्र पर्यटकहरुको सहजताका लागि केही जहाजलाई नेपालगन्ज पठाइएको प्राधिकरणले जनाएको छ । हाल दुर्गम उडानमा तारा एयर, समिट एयर, सीता एयर र नेपाल वायुसेवा छन् । जहाज अभावका कारण सीता र निगमबाहेक तारा र समिटले सबैभन्दा बढी उडान गरिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय गरिरहेको बताए । ‘अप्ठ्यारोमा परेका पर्यटकहरुको उद्धारका लागि गृह मन्त्रालय मातहतमा बेग्लै कमिटी छ । त्यससँग समन्वय गरिरहेका छौं ।’

उनले सेनाको हेलिकोप्टर परिचालनको अधिकार गृहसँग भएको बताउँदै यदि कुनै पर्यटन व्यवसायीहरुले आफ्ना पर्यटक अलपत्र परेको र उद्धारका लागि माग गरेमा सेनाको हेलिकोप्टर पठाइदिने बताए । ‘मौसम सुधार हुँदै गएकाले अलि सहज भइरहेको छ । तर, कुनै व्यवसायीहरुले धरौटीको अभावमा हेलिकोप्टर चार्टर गर्न नसक्ने भएमा मन्त्रालयले यसमा सहयोग गरिदिने छ,’ पर्यटन मन्त्री श्रेष्ठले भने ।

यसैबीच फाप्लुमा सार्वजनिक सवारी साधानमा मनपरी व्यवसायीहरुले पर्यटकबाट भाडा असुलेको विषयमा पर्यटन मन्त्रालयमा कुनै उजुरी आइनपुगेको बताए । ‘सडक यातायातको भाडा अनुगमन गर्ने निकाय अरु नै छन् र पर्यटकसँग बढी भाडा लिएको जानकारी मकहाँ आइपुगेको छैन,’ मन्त्री श्रेष्ठले भने ।

यसैबीच मनास्लुको हिमखाडलमा परेर ज्यान गुमाएका २ नेपाली गाईडमध्ये एउटा शव झिकिएको र अर्को हिउँ कम भएपछि मात्र झिक्न सकिने मन्त्रीले बताए ।

ताजा समाचार