काठमाडौँ
अन्न भण्डार मानिने तराईका जिल्लामा दुई दिनयताको अविरल बेमौसमी झरीले धान बाली खेतमै डुबाएको छ । दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडी जिल्लाका सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु भएको छ । आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् । काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।
बेलामा मल, बीउ र सिँचाइको असुविधाका बीच यो वर्ष बर्खामा नियमितजसो वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ । बर्खामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।
बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा धान बालीमा क्षति पुगेको छ । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार, सियारी, शुद्धोधन, सम्मरीमाई, कोटहीमाईलगायत क्षेत्रका धेरै किसानले खेतमा धान ढलाएका थिए । तर आइतबारदेखिको वर्षाले भित्र्याउन पाएनन् । ‘खेतमा धान पूरै पाकेको थियो,’ मर्चवारीका किसान रामअवतार यादवले भने, ‘शनिबार र आइतबार काटेको पूरै धान पानीमा डुबेको छ ।’ पानीमा डुबेको धानबाट चामल राम्रो नहुने उनको गुनासो छ ।
पसाउँदै गरेको धान पानीले ढलेको शुद्धोधन गाउँपालिका–७ का किसान नारदमुनि यादवले बताए । पसाउने बेलामा ढलेको धानमा बाला लाग्दैन । ‘एक बिघा खेतको धान ढलेको छ,’ उनले भने, ‘अब पानीले खेत हिलो भएकाले मेसिन लगाएर काट्न मिल्दैन, मान्छेले काट्दा लागत पनि बढ्छ ।’ मेसिन लगाउन नपाएपछि धान उत्पादनको लागत साढे दुई गुणासम्म बढ्ने उनको भनाइ छ ।
रूपन्देहीमा गोरखनाथ, राधा–४, सर्जु–५२ जातको धान धेरै उत्पादन हुन्छ । यी छिटो पाक्ने जातका धान हुन् । त्यही पाकेको अधिकांश धान खेतमै डुबेको छ । रूपन्देहीसमेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख सन्देश धितालले दुवै जिल्लामा पाक्न थालेको धानमा भइरहेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । रूपन्देहीको ८२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । समयमै पानी परेको र मल पनि पर्याप्त भएकाले अहिले धान धेरै फलेको तर भित्र्याउने बेलामा नोक्सान भएको ओमसतिया गाउँपालिका–५ का किसान राजेन्द्र चौधरीले बताए ।
पाल्पाको ठूलो फाँटका रूपमा चिनिने माडीमा पाक्न लागेको धान बालीमा खोला पसेको छ । माडीका चिदीपानीको बुढीकोट, माडी, हुमीनको बग्चौरको तल्लो भाग, खहरे, कसेनी, पोखराथोकको तल्लो भाग, चिर्तुङधारा, दमकडा बाँसटारीको खेतमा खोला पसेको छ । धेरै स्थानमा पाक्न लागेको धानमा खोला पसेको बुढीकोटका दीपक घिमिरेको भनाइ छ । खेतमा काटेको र काट्न ठिक्क भएको धानमा पानीले बढी क्षति भएको उनले बताए । माडी फाँटमा ढकबहादुर ठाडाको १५ रोपनी, विष्णुकुमारी घिमिरेको २१ रोपनी, भुवनसिंह कुँवरको ५ रोपनी खेतमा तिनाउ खोला पसेको छ ।
बाँकेमा पनि वर्षाले पाकेको धानमा क्षति पुर्याएको छ । काटेको धानमा पानी जमेर भिजाएपछि किसान चिन्तामा छन् । पाक्न ठिक्क परेको धान पानीसहितको हावाले ढलाइदिएको छ । खेतको पानी सुक्न समय लाग्ने भएकाले थप क्षति व्यहोर्नुपर्ने चिन्तामा किसान छन् । ‘पाकेको धान पानीमा डुबेको छ । धान सत्यानाश भएको छ । पानी सुक्न धेरै दिन लाग्छ,’ खजुरा गाउँपालिका सोनपुरका किसान दिनवा यादवले भने, ‘काटेको धान काम नलाग्ने भइसक्यो ।’वर्षाले पाकिसकेको धानमध्ये २० प्रतिशतभन्दा बढीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।
सुदूरपश्चिमको अन्नको भण्डार भनिने कैलाली र कञ्चनपुरलगायत पहाडी जिल्लामा वर्षाले धानबालीमा ठूलो क्षति भएको छ । बेमौसमी झरीले लहलहाउँदो धान खेतमै डुबाएको छ । खेतमै धान डुबेपछि यो वर्ष राम्रो फसल हुने आसमा बसेका किसान चिन्तित छन् । भित्र्याउने बेलाको वर्षाले काटेर खेतमै रहेको र काट्न बाँकी धानको गुणस्तर खस्कने र उत्पादनमा ह्रास आउने कृषि विज्ञ बताउँछन् ।
नियमित वर्षाका कारण कञ्चनपुर र कैलालीमा धान बालीमा ठूलो क्षति पुर्याएको छ । किसानहरूले धान काटेर सुकाउन खेतमा राखेका छन् । कतिपयले खेतमै काटेको धान थुपारेर कुन्यु बनाएका छन् । घर आँगनमा पनि काटेको धान थुपारेका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको किसान बताउँछन् । ‘खेतमा थुपारेको सबै धान भिज्यो,’ किसान राकेश भट्टले भने, ‘खेतसमेत पूरै डुबानमा परेको छ ।’ उनको एक बिघाको धान भिजेको छ ।